logo


         En | Np

सामाजिक सुरक्षा

 
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा सामाजिक सुरक्षाका क्षेत्रहरु
 
स्थानीय सरकार संचालन ऐन २०७४,नेपालको संविधान २०७२ एकल अधिकार यस्तो निर्माण कार्यमा निर्णय गर्नुभन्दा अगाडि स्थानीय निकायले सम्भावित सामाजिक तथा वातावरणीय प्रभाव, त्यस स्थानमा वसोवास गर्ने जनताहरुमा पर्नसक्ने प्रभाव तथा स्थानीय समुदायको ईच्छा विपरितको वसाई सराई निम्त्याउन सक्ने अवस्थालाई सम्वोधन गरिनुपर्ने पक्ष र सोको सुरक्षाको सुनिश्चित गर्नुपर्दछ ।
 
मानव श्रममा आधारित, वातावरण सुहाउँदो तथा सहभागितात्मक यो अवधारणा धेरै वर्षको अनुभव पश्चात नेपालको हिमाल, पहाड, तराई क्षेत्रमा ग्रामीण पूर्वाधार संरचना निर्माणका लागि प्राविधिक, वातावरणीय र सामाजिक रुपमा उपयुक्त विधिको रुपमा विकास भएको छ । यति हुँदाहुँदै पनि विद्यमान गरिवी र सामाजिक तथा आर्थिक असमानता न्यूनिकरणको प्रयाशमा यस विधिले निरन्तर रुपमा चुनौतिहरु व्यहोर्दै आईरहेको छ । तर लगानी गर्नुभन्दा अगाडि स्थानीय समुदायलाई उनीहरुमाथि पर्नसक्ने सम्भावित सामाजिक तथा वातावरणीय प्रभाव, त्यहाँ वसोवास गर्ने समुदायको अधिकार र स्थानीय समुदायको ईच्छा विपरितको वसाई सराईमा पर्नसक्ने प्रभाववाट सुरक्षित गरिनुपर्ने पक्षको सुनिश्चित गर्नु जरुरी हुन्छ र यसलाई नै सामाजिक सुरक्षा भनिन्छ । 
 
 
१.१ वातावरणीय प्रभाव सम्वन्धी सुरक्षा
 
परियोजना कार्यान्वयनवाट पर्नसक्ने वातावरणीय प्रभाव तथा यसको समाधान वा न्यूनिकरणका लागि आवश्यक उपायहरुको पहिचान परियोजनाले गर्नुपर्दछ । झोलुङ्गे पुल धेरै सीमित क्षेत्रफल (५०–२००० वर्ग मी.) मा निर्माण गरिने हुँदा वातावरण सुरक्षा ऐन २०५५ र वातावरण सुरक्षा नियमावली २०५५ मुताविक वातावरणीय प्रभाव अध्ययन (Environment Impact Assessment - EIA) तथा प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन (Initial Environment Impact Assessment - IEE) गरिने जरुरी हुँदैन । 
 
सम्भावित वातावरणीय प्रभाववाट सुरक्षित हिसावले झोलुङ्गे पुल निर्माण गर्दा अवलम्वन गरिंंदै आएका केहि वातावरणीय पक्षहरु यस प्रकार रहेका छन् ः 
 
  • झोलुङ्गे पुल निर्माण गरिने स्थान भूगर्भीय र वातावरणीय दृष्टिकोणवाट सुरक्षित हुनुपर्ने,
  • भिरालोपनको सुरक्षाका लागि जैविक (वायो) ईञ्जिनियरिङ्ग तरीका अपनाउने र भौतिक संरचना निर्माण गर्ने तथा भूक्षय रोकथामकालागि आवश्यकता अनुसार पानीको निकासको व्यवस्था गर्ने,
  • वन र वातावरणमा पर्नसक्ने नकारात्मक प्रभाव न्यूनिकरणका लागि झोलुङ्गे पुल निर्माण गर्दा काठको डेकको सट्टा स्टिल डेक प्रयोग गर्ने, 
  • वातावरणीय दृष्टिकोणवाट उपयुक्त र कम कार्वन उत्सर्जन सुनिश्चित गर्ने झोलुङ्गे पुल निर्माण गर्ने ।
१.२ जोखिमयुक्त सम्वेदनशील समूहलाई पर्ने प्रभाव सम्वन्धी सुरक्षा

जोखिमयुक्त / सम्वेदनशील समूह अन्तर्गत त्यहाँ वसोवास गर्ने जनता, दलित, अति विपन्न जनता, एकल महिला अथवा महिला घरमुली, उपेक्षित वर्ग आदि पर्दछन् । यी वर्ग उनीहरुको स्थानीय वातावरणमा आउने कुनै पनि नयाँ परिवर्तनवाट धेरै प्रभावित 
हुन्छन् । झोलुङ्गे पुल परियोजनामा यस्ता समुदायमा पर्नसक्ने सम्भावित प्रभाव र सोको सम्वोधनका लागि अपनाइने अवधारणा तथा श्रोत अध्ययन र पहिचान गरिन्छ । यसका केहि उदाहरणहरु तल दिइएका छन् ः  
 
  • झोलुङ्गे पुल निर्माण पश्चात विस्थापित हुनसक्ने समुदायका लागि वैकल्पिक रोजगारीको अवसर श्रृजना गर्ने, 
  • कम्तिमा ५०% स्थानीय रोजगारी विपन्न वर्गका लागि सुनिश्चित गर्ने, 
  • समान कामका लागि समान ज्याला तथा कामदारलाई समयमै भुक्तानी पाउने वातावरणको सुनिश्चित गर्ने, 
  • विपन्न तथा उपेक्षित वर्गको समस्या उपयुक्त तवरले सम्वोधन गर्ने, 
  • उपभोक्ता समितिमा कम्तिमा ४०% महिला सहभागिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्ने,
  • उपभोक्ता समितिको कम्तिमा १ कार्यकारी पदमा उपेक्षित वर्गको प्रतिनिधित्वको सुनिश्चित गर्ने,
  • कामदारहरुको दुर्घटना वीमाको सुनिश्चित गर्ने,
  • प्रक्रियागत ढंगले समयमै सार्वजनिक सुनवाई, सार्वजनिक समीक्षा तथा सार्वजनिक लेखा परीक्षण गर्ने र झोलुङ्गे पुल नजिक सूचना पाटी राखी पारदर्शिता सुनिश्चित गर्ने,
  • १६ वर्षभन्दा मुनिका वालवालिकाहरुलाई श्रममा नलगाउने,
  • कार्यस्थलमा विशेषतः महिला कामदारहरुको लागि उचित वातावरण श्रृजना गर्ने, जस्तै वच्चा हेर्ने सुविधा,
  • कार्यस्थलमा आवश्यक सुरक्षाका उपायहरु अवलम्वन गरिएको सुनिश्चित गर्ने, 
  • पुल निर्माण पश्चात पुल मर्मत समिति गठन गरी तथा पुल संरक्षक तोकी पुलको नियमित मर्मतको सुनिश्चित गर्ने । 
 
१.३ ईच्छा विपरित वसाई सराईको सुरक्षा

सबै झोलुङ्गे पुल निर्माणमा स्थानीय समुदायको ईच्छा विपरितको वसाई सराई मुख्य समस्याको रुपमा नहुन सक्छ किनभने झोलुङ्गे पुलको संरचनाले तुलनात्मक रुपमा कम क्षेत्रफल ओगट्छ र यसले प्रभाव पार्ने क्षेत्र सीमित हुन्छ । तथापि यसको प्रभाववाट सम्भावित वसाई सराईमा पर्नसक्ने असर कम गर्न निम्नानुसारका पक्षहरुमा ध्यान ध्यान दिईन्छ ।
 
  • उपयुक्त पुल निर्माण स्थल छनौट र अतिरिक्त जमीन प्रयोग कम गर्न वा प्रयोग नगर्न अवलम्वन गरिने उपयुक्त डिजाइन तथा वसाई सराईको सम्भावित नकारात्मक असर बारे प्रभावित समुदायसँग विस्तृत रुपमा परामर्श गर्ने, 
  • पुल निर्माणका लागि करकापमा जग्गा अनुदान गर्न मनाही छ तर जग्गा आवश्यक परेको खण्डमा यो स्वेच्छिक रुपमा हुनुपर्दछ । प्रभावित व्यक्ति वा समुदायलाई उनीहरुको हकका बारेमा पूर्ण जानकारी गराउनु पर्दछ र जग्गा अनुदान गरेपश्चात उनीहरु गरिवीको रेखामुनि झर्नु हुँदैन । 
  • पुल निर्माणका लागि प्रयोग गरिएको जग्गाको प्रयोगले पार्ने नकारात्मक प्रभावलाई सम्वोधन गर्ने ।
 
१.४ राष्ट्रिय स्तरका कानून तथा नियमावलीसँग सामाजिक सुरक्षाको तादात्म्यता

झोलुङ्गे पुल क्षेत्रगत अवधारणा अन्तर्गत पर्ने मुख्य दस्तावेजहरुमा स्थानीय पूर्वाधार विकास नीति २०६१ र झोलुङ्गे पुल रणनीति २०६३ पर्दछन् । यसमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयवाट अनुमोदित १८ म्यानुअलहरु पर्दछन् ।
 
यसका अतिरिक्त नेपालमा झोलुङ्गे पुल निर्माण प्रक्रियामा अवलम्वन गरिंदै आएका अन्य धेरै ऐन तथा नियमावलीहरु छन्, जुन यसप्रकार छन् ः
 
  • स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६
  • स्थानीय पूर्वाधार विकास रणनीति २०६१
  • झोलुङ्गे पुल रणनीति २०६३
  • वातावरण संरक्षण ऐन २०६४ तथा वातावरण संरक्षण नियमावली २०६५
  • जग्गा अधिग्रहण ऐन २०३४ तथा जग्गा अधिग्रहण नियमावली २०२० 
  • वन ऐन २०५० तथा वन नियमावली २०५२
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३०
  • भू तथा जलाधार संरक्षण ऐन २०३९ तथा जलाधार संरक्षण नियमावली २०४२
  • जलश्रोत ऐन २०४९ तथा जलश्रोत नियमावली २०५०