logo


         En | Np

झोलुङ्गे पुल बनेपछि एकदिनको बाटो एक घण्टामा

(Source: http://www.paschimelinews.com/2018/06/28/झोलुङ्गे-पुल-बनेपछि-एकदि)

म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।

२०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नूनतेल तारेर उपभोग गर्दै आएका थिए । आवतजावतका लागि भुमरबोट भन्ने ठाउँमा पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या थियो । सिम्कोशकी ज्योति थापाले पुल बनेपछि पूरै दिन हिँड्नुपर्ने घुमाउरो बाटो एक घण्टामा छोटिएको बताउनुभयो ।

गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताउनुभयो ।

गाउँपालीकाको रु पाँच लाख ५३ हजार, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु) को रु तीन लाख ७४ हजार बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको रु ३४ लाख ८२ हजार अनुदान र समुदायको रु ९२ हजार बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिनुभयो ।

२०७४ फागुन ८ गतेदेखि शुरु भएको पुल निर्माण कार्य २०७५ जेठ अन्तिम साता सम्पन्न भएको थियो । स्थानीयवासीले ५० दिनका दरले श्रमदान गरेका थिए । पुलको मंगलबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।भौगोलिकरुपमा विकट सिम्कोस बगरका बासिन्दा र धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको आवतजावतमा सहज बनाएको यो पुलबाट समुदायले खेर गइरहेको जमीनमा जडीबुटी खेती गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनि भएको अध्यक्ष पुनले बताउनुभयो ।

<<READ MORE>>